स्थानीय निर्वाचनको विरोधमा वीरगन्जमा मसाल जुलुस

वीरगन्ज,६ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्र्चाले मङगलबार मशाल जुलुश प्रदर्शन गर्दै स्थानीय तह निर्वाचन बिथोल्ने आन्दोलनको सुरुवात गरेको छ। मधेसका जिल्ला सदरमुकाम र प्रमुख सहरमा मङगलबार साँझ मसाल जुलुस प्रदर्शन गर्दै निर्वाचन बिथोल्ने आन्दोलन थालेको हो।

मङगलबार साँझ वीरगन्जको घण्टार चोकबाट मोर्चाले निकालेको मसाल जुलुस माइस्थान, आदर्शनगर, घडीअर्वा हुँदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका पर्साका अध्यक्ष प्रदीप यादवले मधेसमा फेरि विद्रोहको सुरुवात भएको बताएका छन्।

मधेसी दललाई लत्याएर सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन मधेसमा हुनै नदिने भन्दै उहाँले भन्नुभयो,‘अब पर्सा जिल्लामा चुनावी गतिविधी पनि हुनै दिन्नौँ, यदि कसैले जबरजस्ती गर्छ भने त्यसको परिणाम नराम्रो हुन्छ।’

कोणसभालाई तराई मधेस लोकतान्त्रिक पार्टीका पर्सा अध्यक्ष पुरुषोतमलाल झा, राष्टिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी , जिल्ला सचिव राजेश साह, तराई मधेस सद्भावना पार्टीका पर्सा अध्यक्ष वीरेन्द्र यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकीम अन्सारीले पनि सम्बोधन गरेका थिए। यस्तै पर्साको पोखरीया, कौवाबन कटैया, गादी, बाराको कलैया, परवानीपुर लगायतका स्थानमा पनि मङगलबार साँँझ मधेसी मोर्चाले मसाल जुलुस प्रदर्शन गरेका थिए।

सँगै सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन बिथोल्नका लागि भन्दै मधेसी मोर्चाले पर्सामा संघर्ष समिति गठन गरेको छ। वीरगन्जमा मङगलबार दिउँसो बसेको मधेसी मोर्चाको बैठकले निर्वाचन बिथोल्नका लागि भन्दै पर्साका पाँच वटै निर्वाचन क्षेत्र, दुवै नगरपालिका र ११ गाउँ पालिकामा संघर्ष समिति गठन गरेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिएका छन्।

यसैगरी मोर्चाको बैठकले वैशाख ७ गते बिहान आठ बजे वीरगन्जमा सिठ्ठी र लाठी जुलुश निकाल्ने, ९ गते आमसभा आयोजना गर्ने निर्णय पनि गरेको छ। वीरगन्जमा ९ गते हुने आमसभालाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो , तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव लगायतका नेताले सम्बोधन गर्ने मधेसी मोर्चाका नेता ओम प्रकाश सर्राफले जानकारी दिए। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।

Comments

comments