इजरायल घेदुङद्वारा विद्यालयलाई सहयोग हस्तान्तरण

काठमाडौं । नेपाल तामाङ घेदुङ इजरायलले कम्प्युटर खरिदको लागि विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेको छ । गत बैशाख ६ गते नेपाल तामाङ घेदुङको सभाहलमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो ।

रामेछाप जिल्ला स्थित रामेछाप नपा वडा नं. ७ स्थित भालुखोपमा रहेको पटनादेवी आधारभूत विद्यालयलाई घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले कम्प्युटर खरिदको लागि ६० हजार रुपैयाँ विद्यालयका शिक्षक उद्धवकुमार घिसिङ तामाङलाई हस्तान्तरण गरे ।

उक्त सहयोग रकम इजरायल घेदुङको शैक्षिक सहयोग कोषबाट रु. ५० हजार, इजरायल घेदुङका अध्यक्ष कल्पना मोक्तान तामाङबाट रु. ५ हजार र अनुशासन विभाग प्रमूख अनिल मोक्तान तामाङबाट रु. ५ हजार ब्यक्तिगत सहयोग समेतबाट सङ्कलन गरिएको इजरायलका पूर्व संरक्षक सुन्दरसिंह योन्जन तामाङले बताए ।

कार्यक्रममा पूर्व संरक्षक योन्जन, संरक्षक चन्द्रमाया बोम्जन तामाङ र तामाङ घेदुङका केन्द्रीय सदस्य लक्ष्मी योन्जन तामाङको समेत उपस्थिति रहेको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा पूर्व संरक्षक सुन्दरसिंह योन्जनले ताम्सालिङ क्षेत्रका तामाङ बालबालिकाहरुको शैक्षिक स्तरोन्नतिको लागि सहयोग गरेको बताए । उनले भने– यो सहयोगको सही सदुपयोग भएमा हामी अरु सहयोग गर्न तयार छौ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले इजरायल घेदुङलाई धन्यवाद दिनुहुँदै प्रवासमा रहनुहुने तामाङ साथीहरुमा नेपालमा रहेका तामाङ समुदायको लागि केही गरौ भन्ने भावना उच्च रहेको बताए । उनले प्रवासमा रहेका तामाङको भावना र नेपाल तामाङ घेदुङको योजनालाई जोड्न सके तामाङ समुदायको लागि केही गर्न सकिने दाबी गरे ।

सोही अवसरमा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ तामाङ, पूर्व महासचिव कुमार ब्लोन तामाङ र इजरायल घेदुङका संरक्षक चन्द्रमाया बोम्जनले आफ्नो धारणा राखेका थिए । उहाँहरुले सहयोगको सही सदुपयोग गर्न आग्रह गरे ।

यसक्रममा पटनादेवी आधारभूत विद्यालयका शिक्षक उद्धवकुमार घिसिङले सहयोगको सही सदुपयोग गरी सम्बन्धित संस्थालाई जानकारी गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । यसैबीच नेपाल तामाङ घेदुङलाई दुई थान पंखा खरिद गर्न रु. ७ हजार ८ सय रुपैयाँ केन्द्रीय सदस्य लक्ष्मी योन्जनले कोषाध्यक्ष रुप योन्जनलाई हस्तान्तरण गरेको घेदुङले जनाएको छ ।

Comments

comments